ब्रम्हरुपा सरस्वती मन्दिरः विक्रम सम्बत् २०५४ माघ १७ गते निर्माण सम्पन्न भएको सरस्वती मन्दिर धापासी मार्गमा पर्ने स्थानीय पीपलको रुख मुनीको खाली जग्गामा अवस्थित छ । पर्ति जग्गाको संरक्षण गरि यस क्षेत्रमा नभएको सरस्वतीको मन्दिर निर्माण गर्ने उद्देश्य अनुरुप यस मन्दिरको चुनदेवी सहयोगी संस्था र का.म.पा. ३ वडाको संयुक्त सक्रियतामा निर्माण सम्पन्न भएको हो । यस मन्दिरको निर्माणमा संस्थाका सदस्यहरु, टोलवासीहरु र तत्कालिन वडाध्यक्ष श्री दीपक के.सी. र स्थानीय उद्योगपति श्री टासी वङेल लामाको समेत महत्वपूर्ण योगदान रहेको छ । कलात्मकरुपमा निर्मित यस मन्दिर यस क्षेत्रकै नमूनाको रुपमा तयार भएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं. ३, बाँसवारी क्षेत्र सांस्कृतिक सम्पदाको दृष्टिले धनी क्षेत्र मानिन्छ । यहाँ माथि उल्लिखित मन्दिरहरुको अलवा सल्लाघारी, धारापाटीमा बगलामुखी मन्दिर, कुमारी मन्दिरको पूव तर्फकार्की गाउँमा जलेश्वर महादेव मन्दिर, चक्रपथ नारायण गोपाल चोकको ठीक उत्तर तर्फवुढानिलकण्ठ सडकमा सरस्वतिको मन्दिर, कपन मार्ग पीपलबोट चौरमा गणेश र सरस्वती मन्दिर तथा सल्लाघारीकै कुमारी टोलमा अर्को कुमारी मन्दिर र बाँसबारीको खड्का टोल गल्लीमा समेत कुमारी स्थान रहेका छन् । यस्ता सास्कृतिक सम्पदाहरुलाई संरक्षण गर्न यस क्षेत्रमा विभिन्न संघ संस्थाहरु समेत गठन भै कार्यरत रहेका छन् । यस्तै संस्थाहरु मध्येको अग्रणी संस्थाको रुपमा चुनदेवी सहयोगी संस्था रहेको छ । माथि उल्लिखित सम्पदाहरु मध्ये आधा भन्दा वढीको संरक्षण तथा मर्मत संभार समेतको कार्य चुनदेवी सहयोगी संस्थाबाट हुँदै आएको छ । सम्बत् २०६४ सालदेखि संस्थाले आफ्नो संरक्षणमा रहेका मन्दिरहरुमा ब्राम्हणबाट नियमित पूजाआजा गराउने र सरसफाईको व्यवस्था गरेको छ ।
स्थानीय देवी देवताको वारेमा विस्तृत जानकारी गराउने खालका प्रकाशनहरु अध्ययन अनुसन्धान गरी क्रमशः प्रकाशित गर्दै जाने उद्देश्य संस्थाले लिएको छ ।
साविकमा अधिकांस क्षेत्री, केही मात्रामा ब्राम्हण, नेवार, आदिको बसोवास रहेको यस क्षेत्रमा हाल भने विभिन्न जनजातीहरुको समेत बसोबास रहेको छ । धार्मिक हिसावले करिव ९५ प्रतिशत हिन्दू धर्मावलम्वीहरुको बाहुल्यता रहेको छ ।