चुनदेवी सहयोगी संस्थाको जन्म विक्रम सम्वत् २०३५ साल मंसिर १२ गते बुधबार "समाज कल्याण कोष" को नामबाट भएको हो । स्थानीय बाँसबारी टोलका प्राय सम्पूर्ण व्यक्तिहरुको सामुहिक प्रयासमा स्थापना भएको यस संस्थाले समयको अन्तरालमा आज आएर विस्तारित रुपमा आफूलाई उभ्याउन सफल भएको छ । यही सफलताको प्रतिफल आज यस संस्थाको सदश्य संख्या १११ घर पुगेको छ । यसरी नै यस संस्थाले आफ्ना कार्यक्रमहरुमा व्यापकताल्याई सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, खेलकुद, आदि विविध क्षेत्रमा अग्रसरता बढाएको छ ।
यस संस्था स्थापनाको ऐतिहासिक पृष्ठभूमितर्फ फर्कने हो भने आर्थिक पक्षलाई नै अगाडि सार्नुपर्ने हुन आउँछ । प्राचीन समयदेखि नै आपसी सहयोग र सद्भावनामा अगाडि वढ्दै हरेक सामाजिक कार्यमा एक जुट हुँदै आएको यस टोलमा लाश उठाउन समेत आर्थिक रुपले असमर्थ हुनु परेको वास्तविकताको प्रतिफलनै यो संस्थाको जन्म भएको कटु सत्यलाई आज पनि विर्सन सकिन्न । यस अर्थमा आर्थिक पक्षलाई यो संस्था स्थापनाको मूल उद्देश्य मान्नु परेपनि वढ्दो शहरीकरणको प्रभाव तथा नयाँ र पुराना वासिन्दाहरुवीचको अन्तरसम्वन्धको अभावको स्थितिले पनि संस्था स्थापनामा वाध्यात्मकता सिर्जना गरेको पाइन्छ । आज आएर यस संस्थाले आफ्नो उमेरको वयस्कतासंगै धार्मिक, आर्थिक, सामाजिक, शैक्षिक आदि टोलका विविध समस्याहरुसंग जुद्दै परम्परा र युगीन आवश्यकतावीचको पूलको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । सधैं निश्चित सीमाभित्र मात्र बाँधिएर वस्न नसक्ने मानवीय प्रवृत्तिको प्रतिफल आज आएर स्थापनाको लामो अन्तरालमा यस संस्थाले आफ्ना विविध क्रियाकलापहरुबाट टोल र समाजको लागि केही गर्न सक्ने विश्वास दिलाउन सक्ने भएको छ ।
वास्तवमा आजको युग संगठीत मान्छेको युग हो । एक हातले ताली बज्दैन भने झै एक्लै कसैले पनि केही गर्न सक्तैन । यसै वास्तविकतालाई अंगिकार गरी टोल र समाजका हरेक क्षेत्रको विकासमा संस्थागत रुपमा केही गर्ने तथा परम्पराको संरक्षण सम्वर्धन संगै आधुनिक समाजको माग अनुरुप अघिवढ्ने नै यस संस्था स्थापनाको मूल उद्देश्य रहेको छ । यसरी परम्पराको संरक्षण र वर्तमान आवश्यकताको पूर्ति गर्ने अभीष्ट नै यस संस्था स्थापनाको पृष्ठभूमि बन्न पुगेको कुरालाई आजसम्मका क्रियाकलापले छर्लङ पारेको छ ।










































































