चण्डिका कुमारी मन्दिर (घर)- बाँसबारीमा रातीको समयमा सो स्थानमा सानासाना कुमारीहरु उत्पत्ती भई अगाडिको कुवामा (हाँसेको कुवामा) आएर नुहाउने र नुहाई सकेपछि निस्केको स्थानमा नै गएर खेल्ने गरेको देखेर आज भन्दा करीव २५० वर्षअगाडि आफूले खेती गरेको जग्गामा कुमारी स्थापना गरी कुमारी खेल्नको लागि १ रोपनी जग्गा समेत छोडी स्थानीय व्यक्तिहरुबाट स्थापना भएको भन्ने भनाई छ । कुमारी स्थान तत्कालि बाँसवारी छाला तथा जुत्ता कारखाना बन्ने क्रममा जग्गा अधिग्रहण हुँदा सोही कारखानाको स्वामित्वको जग्गामा पर्न गएको र कारखानाले कर्मचारी आवास क्षेत्र निर्माण गर्दा सो स्थानलाई पनि पर्खाल तथा सिढी बनाई अग्लो स्थानमा राखी दिएकोले स्थानीयवासीहरुले पूजाआजा गरि आएको प्रमुख स्थान हो । साविक बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरण भएपछि उक्त क्षेत्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका मेडिकल काउन्सील, स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ परिषद समेतका संस्थाहरुको क्षेत्र भित्र पर्न गएको र कुमारी स्थानको किटानी क्षेत्रफल समेत जानकारी हुन नसकेको अवस्थामा चुनदेवी सहयोगी संस्थाको पहलमा कुमारी मन्दिर (कुमारी घर) निर्माण गर्ने पहल भै पसिरमा रहेका सस्थाहरु, का.म.पा. ३ वडा र टोलवासी वुद्धिजिवी, वुढापाकाहरुसंग समेत सल्लाह गरि साविक स्थानबाट केही पश्चिम तर्फ सडकपेटी सँगै जोडिएको जग्गामा कुमारी मन्दिर (कुमारी घर) निर्माणको थालनी विक्रम सम्वत् २०६२ बैशाख १४ गते शुरु भै मिति २०६३ जेष्ठ २२ गते कुमारीको मूर्ति नव निर्मित मन्दिरमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गर्दा मन्दिरमा साविकका पूजागरी आएका शिलाहरुको अलावा शिलाकै कुमारीको मूर्ति समेत स्थापना गरिएको छ । यस निर्माण कार्यमा मेडिकल काउन्सील, स्थास्थ्य व्यवसायी परिषद र नर्सिङ परिषद समेतबाट सहयोग भएको छ । त्यसै गरी का.म.पा. बाट पनि सहयोग प्राप्त भएको यस मन्दिर निर्माणमा चुनदेवी संस्था परिवार र टोलबासीको महत्वपूर्ण सहयोग प्राप्त भएको छ । हाल माथिल्लो तलामा कुमारीको कलात्मक मन्दिर र भजन घर छ भने भूइतलाको अगाडि भागमा पसल कवल र पछाडि भागमा चुनदेवी सहयोगी संस्थाको कार्यालय रहेको छ । पसल कवलबाट प्राप्त हुने आम्दानी यस क्षेत्रको स्थानीय सांस्कृतिक सम्पदा सरक्षण तथा व्यवस्थापनमा लगाउने नीति संस्थाले लिएको छ । कुमारीको प्रतिको रुपमा एउटा मूर्ति र छवटा शिला गरी जम्मा ७ वटा कुमारी रहेको कारण यस कुमारीको नाम चण्डिका राखिएको छ ।
